काठमाडौं, भदौ २ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक भएको भन्दै स्वागत गरेको छ ।
महासंघले बिज्ञप्ति जारी गरी अर्थ मन्त्रालयले अघि बढाएको आर्थिक सुधार आयोग गठनको कार्ययोजनालाई स्वागत गरेको हो । अर्थले केही दिनअघि सय दिने कार्ययोजना अघि सार्दै मुख्य ३० वटा कामलाई प्राथमिकताको सूचीमा राखेको थियो । जसमा आर्थिक सुधार आयोग गठन गर्ने उल्लेख छ ।
अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो ।
अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकार समक्ष राखेको थियो ।
‘महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु,’ महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो । महासंघले यो कामका लागि मन्त्रालय र अर्थमन्त्रीलाई धन्यवाद दिएको छ ।
‘यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गर्दछ । महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको छ,’ महासंघले बिज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस्