काठमाडौं, भदौ ३ । छिमेकी मुलुक भारतले अन्तरदेशीय व्यापारका लागि नेपालका १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत खरिदका लागि स्वीकृत गरेको छ । भारतको यो निर्णयसँगै नेपालले अब पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।
उर्जा मन्त्रालयका अनुसार भारतको पछिल्लो निर्णयले नेपालबाट हालसम्म ६९० मेगावाट (१६ वटा परियोजनाबाट) भारत निर्यात हुँदै आएकोमा अब ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) विद्युत निर्यात हुनेछ । नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत भारतलाई बिक्री गरेकको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट ३९ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेयता भारतले नेपालमा उत्पादित विद्युतलाई रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको दूतवासले जनाएको छ । भारतले आफ्नो देशका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपिओ) को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ । जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने जलस्रोतविज्ञहरुको भनाई छ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष नै झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्