सुर्खेत, भदौ ४ । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई छ करोड रुपैयाँ बराबरको राहत रकम उपलब्ध गराएको छ ।
विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत छ करोड ८८ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराएको हो ।
पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत एक करोड १८ लाख रुपैयाँ प्रदान गरिएको थियो । प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख रुपैयाँ, तेस्रो चरणमा ६६ जनालाई एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई तीन करोड ४४ लाख रुपैयाँ बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।
मन्त्रालयले आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई तीन करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले तीन करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ । त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्