झापा, भदौ ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा बिलय गराउने योजनासहित लागेपछि झापाका सो पार्टीका अधिकांश नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
अध्यक्ष माधव नेपाल नै पार्टी नचल्ने निश्कर्षसहित माओवादीमा बिलयको योजना बनाएको तथ्य खुलेपछि सो पार्टीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता–कार्यकर्ता एमालेमै फर्कनुभएको हो । उहाँहरूले पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी त्याग्नुभएको हो ।
यही क्रममा अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभयो । एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको नवप्रवेशी दाहालले बताउनु भयो ।
एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने बताउनु भयो । पार्टी प्रवेश कार्यक्रममा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा समाहित हुन सबैलाई आव्हान गर्नुभयो ।
नेकपा एस छाडेर आएका दमक नगर कमिटीका पूर्वअध्यक्ष महेश घिमिरेले पार्टी सदस्यता नवीकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउने प्रतिबद्धता जनाउनु भयो । दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ता एमालेमा फर्किएको जिल्ला कमिटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्