काठमाडौं, १८ भदौ । सत्तारूढ नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक मंगलबारबाट सुरू हुँदैछ। दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
एमालेको पोलिट्ब्युरो बुधबारसम्म चल्नेछ। पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन्।
एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ। त्यस्तै सदस्यता नवीकरण उत्साहजनक नभएको भन्दै यसलाई अभियानकै रूपमा लैजाने एमालेको तयारी छ।
एमालेका साढे पाँच लाख सदस्यमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेको जिल्लाहरूले रिपोर्ट दिएका छन्। त्यस्तै एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय यसअघिकै केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ। आजबाट सुरू हुने पोलिट्ब्युरोले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने एमालेले बताएको छ। त्यस्तै बैठकमा सरकारको एक महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। एमालेमा ९० सदस्यीय पोलिट्ब्युरो छ।













प्रतिक्रिया दिनुहोस्