जनता टाइम्स

९ आश्विन २०८१, बुधबार ०८:४७

आगामी तीन दिन देशका यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध


काठमाडौं, असोज ९ । आगामी तीनदिनसम्म नेपालका सबै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा भैरहेको महाशाखाले उल्लेख गरेको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य पानी पर्ने साथै कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरी आउने महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा सामान्य वर्षा हुने तथा कोशी, बागमती , गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ । आज राती कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरी आउने महाशाखाले जनाएको छ।

भोलि देशभर नै सामान्य वर्षा हुने सम्भावना रहेको तथा कोशी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने जनाइएको छ। बिहीबार पनि देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरी आउने बुलेटिनमा उल्लेख छ।

शुक्रबार कोशी,मधेश,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मुसलधारे पानी पर्ने छ। देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

भारी वर्षा तथा हावाहुरी आउने सम्भावना भएको स्थानमा रहने सबैले सतर्कता अपनाउन पनि महाशाखाले सूचित गरेको छ।