काठमाडौं, असोज १० । नेपाल प्रहरीले ठगी सम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी (बलात्कार) कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार अभियक्तलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
दुवईमा पक्राउ गरी नेपाल ल्याइएकामा ठगीसम्बन्धी कसूर मुद्दाका फरार अभियुक्त पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौंको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन ।
यसैगरी जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्कीलाई पक्राउ गरी नेपाल ल्याइएको प्हरीले जनाएको छ । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ काठमाडौं ल्याइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात इन्टरपोलले २०७९ जेठ १६ गते रेड नोटिस जारी गरेको थियो ।
यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा २०७० साउन २४ गते कबिर बुढाथोकी र विसं २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्