जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १५:१६

बाढी-पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढछ : प्रधानमन्त्री ओली


काठमाडौं, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आएको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजना साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताउनु भएको छ ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराउनु भयो ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी हुनुभएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिँदै उहाँले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताउनु भयो ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।