जनता टाइम्स

२९ कार्तिक २०८१, बिहीबार १४:५७

दोलखाको गौरीशंकर र जाजरकोटको नलगाडसहित यी ५ पालिकाको उपप्रमुखमा महिला मात्रै उम्मेदवार बन्न पाउने


काठमाडौं, कात्तिक २९ । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा ५ वटा पालिकाको उपप्रमुखमा महिला मात्रै उम्मेदवार बन्न पाउने भएका छन ।

राजनीतिक दलहरुले महिलालाई डमी उम्मेदवार बनाएर स्वतन्त्रका नाममा आफ्ना आफन्त उठाएर चुनाव जिताउने चलखेल गरेपछि निर्वाचन आयोगले अध्यक्षमा पुरुष बहाल रहेका ५ वटा पालिकाको उपाध्यक्ष पदमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने ब्यवस्था गरेको हो ।

संघीय राजधानी काठमाडौंको किर्तिपुरको प्रमुखसहित ८ पालिकामा अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख वा उपप्रमुखको निर्वाचन हुन लागेको छ । जसमध्ये दोलखाको गौरीशंकर र जाजरकोटको नलगाडसहित ५ वटा पालिका र एउटा जिल्ला समन्वय समितिमा भने राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिदाँ अनिवार्य रुपमा महिलाले मात्रै दिनुपर्ने भएको हो ।

ती ५ पालिकामा कुनै पनि राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले महिलाको उम्मेदवारी नदिएर पुरुषको उम्मेदवारी दिएमा निवार्चन आयोगले उम्मेदवारी नै रद्द गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो । थपलियाका अनुसार बाँकी ३ पालिकामा भने पुरुष वा महिला जोसुकै उम्मेदवार बन्न पाउने छन ।

आयोगका अनुसार दोलखाको गौरीशंकर गाउँपालिकाका प्रमुखमा पुरुष विस्वास कार्की बहाल रहेकाले त्यहाँ उपप्रमुखमा अनिवार्य महिलाले मात्रै उम्मेदवारी दिनुपर्नेछ भने जाजरकोटको नलगाड नगरपालिकामा डम्बरबहादुर राउत प्रमुखमा बहाल रहेकाले उपप्रमुखमा अनिवार्य महिलाले नै उम्मेदवारी दिनुपर्नेछ भने हुम्लाको सर्केगाड गाउँपालिकामा अध्यक्षमा ठानबहादुर रोकाय बहाल रहेकाले उपाध्यक्षमा अनिवार्य महिलाले नै उम्मेदवारी दिनुपर्नेछ ।

यसैगरी बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अध्यक्ष भरतबहादुर रोकाया बहाल रहेकाले त्यहाँ उपाध्यक्षका लागि महिलाले मात्रै उम्मेदवारी दिन पाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो । यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा पुनीराज घर्ती बहाल नै रहेकाले उपाध्यक्षमा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिदाँ महिलाले मात्रै दिनुपर्नेछ । यी पालिकामा पुरुषलाई उपाध्यक्षमा उम्मेदवार बन्न रोक लगाइएको छ ।

आयोगले मोरङको ग्रामथान गाउँपालिकामा उपप्रमुख एवं कार्यवाहक अध्यक्ष गुमावतीदेवी थारु रहेकाले त्यहाँ अध्यक्षमा राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारी दिने जो सुकैले पनि पुरुष वा महिला दुवैले दिन पाउनेछन । यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख शुभलक्ष्मी शाक्य उपप्रमुख एवं कार्यवाहक प्रमुख भएकाले त्यहाँ पुरुष वा महिला जो सुकैले पनि उम्मेदवारी दिन पाउनेछ ।  यसैगरी दैलेखको महाबु गाउँपालिकामा पनि उपाध्यक्ष एवम कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा बहाल रहेकाले त्यहाँ अध्यक्षमा पुरुष वा महिला जो सुकैले पनि उम्मेदवारी दिन पाउने आयोगले प्रष्ट पारेको छ ।

निर्वाचन आयोगले जिल्ला समन्वय समिति कैलालीको उपप्रमुखमा पनि महिला मात्रै उम्मेदवार बन्न पाउने ब्यवस्था गरेको छ । कैलालीको प्रमुखमा खगराज भुसाल बहाल रहेकाले त्यहाँ उपप्रमुखमा अनिवार्य महिलाले नै उम्मेदवारी दिनुपर्ने आयोगले प्रष्ट पारेको हो । जिल्ला समन्वय समिति ओखलढुंगामा भने उपप्रमुख एवं कार्यवाहक प्रमुख महिला रहेकाले त्यहाँ पुरुष वा महिला जोसुकैले उम्मेदवारी दिन पाउने आयोगको भनाई छ ।

निर्वाचन आयोगले यस अघि नै पुरुष बहाल रहेको पालिकामा अनिवार्य महिला उम्मेदवार बनाउन राजनीतिक दलहरुलाई निर्देशन दिइसकेको छ । आयोगले कात्तिक १ गते प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।’

आयोगको निर्देशन मानेजस्तो गरी दलहरुले दलगत रुपमा महिलालाई उम्मेदवार बनाउने तर पुरुषलाई स्वतन्त्र उठाएर जिताइ महिलाको भाग खोस्ने र संबैधानिक अधिकार कुण्ठित गर्ने योजना बनाएको सूचना पाएपछि आयोग कठोर निर्णय लिन बाध्य भएको हो ।