सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई एक लाख रुपैयाँभन्दा बढी उपचार खर्च लागेमा सो खर्चको ५० प्रतिशत रकम पनि कोषबाट नै व्यहोरिने भएको छ ।
काठमाडौं, मंसीर १२ । सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध भएका योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने भएका छन । यस्ता कोषका योगदानकर्तालाई एक लाख रुपैयाँभन्दा बढी उपचार खर्च लागेमा उक्त खर्चको ५० प्रतिशत रकम कोषबाट व्यहोरिने भएको हो ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनापछि यो व्यवस्था लागू हुने घोषणा गर्नुभएको छ । ओली नेतृत्वको सरकारले नै पहिलो पटक सामाजिक सुरक्षा कोषको सुरुवात गरेको थियो । प्रधानमन्त्री ओेलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्न लागेको घोषणा पनि गर्नुभयो । ‘आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
यो ब्यवस्थासँगै उहाँले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने प्रधानमन्त्री ओलीको भनाई छ । मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने सोचका साथ ओलीले यो काम अघि बढाउनु भएको हो । ओलीकै योजनाअनुसार उहाँ प्रधानमन्त्री भएको बेला २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा सुरु भएको थियो ।
कोषले २०७५ मंसिर ११ गतेदेखि संगठित निजी क्षेत्रका प्रतिष्ठान र श्रमिक, २०७९ चैत्र ८ गते देखि वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका व्यक्ति र २०८० साउन ३१ देखि अनौपचारिक क्षेत्र, देशभित्र स्वरोजगारीमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रस्तावनामा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्ने तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले कार्य गरिरहेको छ ।
कोषको लगानी ९९ अर्ब नाघ्यो, पोर्टफोलियो १ खर्ब माथि
कोषले हालसम्म जम्मा भएको रकमलाई मुद्दती निक्षेप, डिबेन्चर, ट्रेजरी बिल, विकास ऋणपत्र, योगदानकर्ता सापटी र म्युचुअल फन्डमा लगानी गर्दै आएको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार स्थापना कालदेखि हालसम्म उक्त लगानीका क्षेत्रहरूमा कुल ९९ अर्ब १८ करोड रुपैयाँबराबरको रकम लगानी गरेको छ । जसबाट १ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ रकम प्रतिफल कमाएको कोषको वित्तीय विवरणमा उल्लेख छ ।
आव २०८१/८२ को असोजसम्ममा कोषको पोर्टफोलियो १ खर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ । कोषले योगदानकर्ताहरूलाई मुलुकभरका ९३ वटा स्वास्थ्य संस्थाबाट बिमा सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरूमा स्वचालित प्रणाली समेत जडान गरेको छ ।
१७ लाख बढी आबद्ध, साढे ११ अर्बको उपचार दाबी भुक्तानी
कोषमा मंसिर ११ गतेसम्म १९ हजार ७ सय ६९ कम्पनी रोजगारदाताको रूपमा सूचीकृत छन । सूचीकृत संस्थादेखि स्वरोजगार सबैबाट कुल १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन । औपचारिक क्षेत्र अर्थात् विभिन्न संस्थाका कर्मचारीहरू ५ लाख ४३ हजार ४ सय ९१ जना कोषमा सूचीकृत छन । पछिल्लो समय वैदेशिक रोजगारमा गएकालाई पनि सामाजिक सुरक्षामा जोडिएपछि योगदानकर्ताको सूचीकृत संख्या ह्वात्तै बढेको छ । वैदेशिक रोजगारमा गएकाहरूमध्ये १२ लाख ५३ हजार ६ सय १५ जना योगदानकर्ताको रूपमा कोषमा सूचीकृत छन ।
कुल १७ लाख ९७ हजार ६ सय ४० मा अनौपचारिक क्षेत्रबाट ३ सय ७ जना र व्यक्तिगत रूपमा स्वरोजगार योगदानकर्ता २ सय २७ जना मात्रै रहेका छन् । उक्त संख्यामा योगदानकर्ताहरू कोषमा आबद्ध हुँदा कुल ६८ अर्ब ६८ करोड ९० लाख रुपैयाँ कुल योगदान रकम संकलन भएको छ ।
कानुनी व्यवस्थाअनुसार कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गरेको छ । यसकारण कोषले कुल उक्त रकम संकलन गर्दा योगदानकर्ताहरूलाई बिमाबापत मात्रै ११ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । हालसम्म कुल योगदानकर्तामध्ये १ लाख ८० हजार ९ सय २२ जनाले ५ लाख ५ सय ७७ पटक दाबी गरेअनुसार रकम भुक्तानी गरेको हो । दाबीहरूमध्ये सबैभन्दा धेरै दाबी वृद्ध अवस्था सुरक्षा योजनामा परेको देखिन्छ ।
त्यसैगरी, दोस्रो, तेस्रो र चौथोमा क्रमशः औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा, आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा रहेका छन ।
सामाजिक सुरक्षा योजना कार्यविधि अनुसार सुविधा भुक्तानी लिन अनलाइनमार्फत भुक्तानीका लागि निवेदन दिनुपर्ने र हरेक सुरक्षा योजनाको भुक्तानीका लागि अलग–अलग निवेदनका ढाँचा व्यवस्था गरिएको छ । औषधि उपचारबापतको रकम अस्पताललाई नै भुक्तानी दिइने र पेन्सन, प्रसूति बिदा, शिशु स्याहारलगायतका सुविधाबापतको रकम योगदानकर्तालाई बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्