जनता टाइम्स

२२ मंसिर २०८१, शनिबार १०:२१

सत्य निरूपण र बेपत्ता आयोगमा लबिङ गर्ने बाहिरिए, ४० जना सिफारिस


काठमाडौं, मंसिर २२ । पुनः नियुक्तिको लागि लबिङ गर्ने पुराना पदाधिकारीलाई पन्छाउँदै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पदाधिकारीमा नयाँ अनुहारलाई ‘सर्ट लिस्ट’ गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकको सिफारिस समितिले दुवै आयोगका पदाधिकारीका लागि शुक्रबार ‘सर्ट लिस्ट’ गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाअनुसार अध्यक्षमा ८ जनाको नाम सिफारिस गरिएको हो ।

छनोट सूचीमा रहेकाहरूमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, काशीराज दाहाल, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक र महेश थापा छन । सिफारिश समिति स्रोतका अनुसार, अध्यक्षमा ८ र सदस्यमा ३२ जनाको नाम छनोट गरिएको छ ।

आयोगमा नियुक्तिको लागि योग्य व्यक्तिहरूको संक्षिप्त सूची आज प्रकाशन गरिने समितिका प्रवक्ता खम्मबहादुर खातीले जानकारी दिए । उहाँका अनुसार, अध्यक्ष र सदस्यमा सिफारिस भएका ४० जना व्यक्तिहरूको मानव अधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको पृष्ठभूमि रहेको छ ।

पूर्वप्रधानन्यायाधीश मिश्र संयोजकत्वको सिफारिस समितिमा मनोज दवाडी, अर्जुनबहादुर कार्की, स्टेला तामाङ र खम्मबहादुर खाती सदस्य हुनुहुन्छ । समितिले सर्वसम्मत रूपमा नामहरू सिफारिस गरेको छ ।

सार्वजनिक प्रतिक्रिया लिइने

समितिले यस पटक सिफारिसका क्रममा न्याय र मानव अधिकारको क्षेत्रमा काम गरेका व्यक्तिलाई बढी प्राथमिकता दिएको छ । सिफारिसमा सूचीमा परेका व्यक्तिहरूको पृष्ठभूमि, कार्यशैली र व्यवहारका बारेमा सार्वजनिक प्रतिक्रिया लिइने भएको छ ।

समितिका प्रवक्ता खातीका अनुसार, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, मानव अधिकारको गम्भीर उल्लंघनसम्बन्धी कसुरमा सजाय पाएको, सशस्त्र द्वन्द्वमा संलग्न रहेको हो/होइन भनी सार्वजनिक प्रतिक्रिया लिइने बताइएको छ ।