काठमाडौं, पुस १९ । भेपमा लुकाएर सुन तस्करी गर्ने तस्करको समूहविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको छ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा रेशम महरा, राहुलसहित ११ जनालाई प्रतिवादी कायम गरेर शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्रअनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार तिन सय रुपैयाँ बिगो मागदाबी लिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्का, सिन्धुपल्चोकका दिनेश खड्का, अमृत कार्की, काभ्रे घर भएका राम केशव थापा क्षेत्री, बाँके घर भएका ललित थापा, सुनसरीका वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगरले, रोल्पा घर भएका राहुल महरा, बेल्जियन नागरिक दावा छिरिङ, सिन्धुपाल्चोकका रोजन राउत र बाजुरा घर भएकी प्रेरणा राउतलाई प्रतिवादी कायम गरिएको छ । उनीहरुले सुन तस्करी गरी अकुत सम्पत्ति कमाएको दावी अभियोगपत्रमा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्