जनता टाइम्स

१० माघ २०८१, बिहीबार १५:००

सरकार दिन गनेर बस्दैन, जनतालाई आशा जगाउन केन्द्रित छ : अर्थमन्त्री पौडेल


काठमाडौं, माघ १० । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने, काम गरेर परिणाम ल्याउने बताउनु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताउनु भयो । ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं’, अर्थमन्त्री पौडेलले भन्नुभयो । ‘हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं,’ उहाँको भनाई थियो ।

अर्थमन्त्री पौडेलले संकट र चुनौतीहरूलाई पार गर्दै राष्ट्रिय बाणिज्य बैंक यहाँसम्म आइपुगेको बताउनु भयो । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिनुभयो । यस्तै उहाँले बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न आग्रह गर्नुभएको छ ।

बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उनले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई उहाँले सुझाव समेत दिनुभयो ।