काठमाडौं, माघ १० । पार्टीको स्वाभिमान र स्वतन्त्रताभन्दा भीम रावलको दासता ठीक भन्दै बडीगार्ड बनेर हिडेको अभियोगमा अछाम एमालेले ६ जना नेतालाई कार्वाही गरेको छ ।
अछाम एमालेले पार्टीबाट निष्काशनमा परेका नेता रावलको पछुवा बनेर साथ दिएको भन्दै संगठन बिभाग प्रमुखसहित ६ जना नेतालाई कारवाही गरेको जनाएको छ ।
पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य एवं सङ्गठन विभाग प्रमुख प्रकाशबहादुर शाह, सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शङ्कर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको छ ।
उनीहरूलाई नेकपा एमालेको सङ्गठन कमजोर पार्ने कार्यहरू गरेको, पार्टीको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न सञ्चार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको अभियोग छ ।
जिल्ला कमिटी सचिव भीम रावलले नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरीत कार्य गरेको हुँदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताउनु भयो । बुधबार पार्टीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिमा सक्रिय हुने अरू नेताहरूलाई पनि आगामी दिनमा कारबाही गरिने चेतावनी दिइएको छ ।
एमालेले अछाम कमिटीले कारबाही गरेका ६ जनासहितका १ हजार ८७ जनाले सोमबार भीम रावलको ‘मातृभूमि जागरण अभियान’ लाई समर्थन गरेको भन्दै हस्ताक्षरसहित सामूहिक वक्तव्य जारी गरेको भन्दै प्रचार गरिएको थियो । सो काममा ६ जनाको संलग्नता देखिएकोले कार्वाही गरिएको अछाम एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्