जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १३:५७

इराकको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३० को मृत्यु, २३ सय घाइते


बग्दाद, कात्तिक ९

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन् । प्रदर्शनमा हजारौँ सहभागी भएका थिए । सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शन गरेका थिए ।

उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । देशको मुख्य प्रशासनिक कार्यालयहरु रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । दक्षिणी र मध्य क्षेत्रका प्रदेशहरुमा भने प्रदर्शनकारीहरुले शुक्रबार निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गरेका थिए ।

धि क्वार, बास्रा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने माग गरेका छन् । झडपमा परी मृत्यु भएका ३० जना मध्ये केही सुरक्षाकर्मी पनि रहेको जनाइएको छ ।

उनीहरु मध्ये ८ जनाको बग्दादमै मृत्यु भएको हो । त्यसैगरी मायसान र धि क्वारमा नौ नौ जनाको र बार्सा र मुथन्नामा चार चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका र घाइते भएकाहरु अधिकांशलाई गोली लागेको, अश्रुग्यासको असर परेको र रबरका गोली लागेको पाइएको छ ।

इराकमा यसै महिनाको शुरुमा जारी रहेको सरकार विरोधी आन्दोलनमा १ सय ५७ जना व्यक्तिको मृत्यु भइसकेको थियो । बेरोजगारी र भ्रष्टाचार बृद्धिको विरोघ गर्दै जनआन्दोलन शुरु भएको थियो । प्रदर्शनकारीहरुको आवासिय भवनको प्रवन्ध हुनु पर्ने पनि माग रहेको थियो ।