जनता टाइम्स

९ फाल्गुन २०८१, शुक्रबार १४:२८

टम्पले अनुदान रोकेपछि एमाले महासचिव पोखरेलको प्रतिक्रिया : अपमानबाट जोगिन आफ्नो देश आफैं बनाऔं


काठमाडौं, फागुन ९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो देश आफैं बनाउने दृढ संकल्पका साथ अघि बढन सवैलाई अपिल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमाथि लगाएको आक्षेपको बिषयमा आफ्नो धारणा राख्दै एमाले महासचिव पोखरेलले गरिबी माथिको अपमानबाट जोगिने हो भने अव आफ्नो देश आफैं बनाउने संकल्प गर्नुपर्ने बताउनु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेको प्रसंगमा महासचिव पोखरेलले भन्नुभएको छ, गरिबी माथिको अपमानबाट जोगिने हो भने अव आफ्नो देश आफैं बनाउने अठोट गर्नुपर्छ ।

गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिनुभएको थियो । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।

ट्रम्पको सो आरोपलाई एमाले महासचिव पोखरेलले ‘गरिबी माथिको अपमान’ भनेर टिप्पणी गर्दै आफ्नो देश नेपाल आफैं बनाउने अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।

महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुककै होला नि ।’

उहाँले अव आफ्नो देश बनाउने काममा जुटन पनि अपिल गर्नुभएको छ । महासचिव पोखरेलले थप लेखेका छन्, ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा जुटौं र भनौं–हामी बनाउँछौं हाम्रो देश नेपाल ।’

एमाले महासचिव पोखरेलको भनाई जस्ताको तस्तै

विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिवी माथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौ र भनौं–‘हामी बनाउछौ हाम्रो देश नेपाल ।’