जनता टाइम्स

१० फाल्गुन २०८१, शनिबार २१:४०

पार्टीबाट लगातार अवसर लिएर एमाले उत्पादनको कारखाना बन्द गर्ने काममा लागेकाहरूलाई तह लगाउनु पर्छ : कैलाश ढुंगेल


काठमाडौं, फागुन १० । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशको विकास तीव्र गतिमा अघि बढेको बताउनुभएको छ

प्रेस चौतारी नेपालको सचिवालय बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमाले नेतृत्वको सरकारले देशको विकासमा अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो । ‘एमालेको नेतृत्वले डोकामा नुन बोकेर खाने युगको अन्त्य गरेको छ, बिकाशको नेतृत्व गरेको छ, जनतालाई लोककल्याणकारी राज्यको अनुभूति दिलाएको छ,’ उहाँले भन्नुभयो ।

देश बनाउनको लागि राम्रो नीति आवश्यक हुने बताउँदै ढुङ्गेलले त्यो नीति बोकेको पार्टी नेकपा एमाले भएको उहाँले स्पष्ट पार्नुभयो ।एमालेले गरेको कामको भने काम अनुसार प्रचार गर्न नसकिएको ढुङ्गेलले बताउनुभयो ।

मुहान बनेन भने पार्टी नबन्ने उहाँले बताउनुभयो । त्यसैले पार्टीलाई बलियो बनाउन गाउँ नै बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेका जनसंगठन र पार्टी बलियो हुन अनेरास्ववियु राम्रो बनाउनु पर्ने उहाँको भनाइ छ । ‘अखिल बनाउन नदिने, पार्टीको कार्यकर्ता भइरहेन नियुक्ति खाने नेता पार्टीमा छन्, त्यस्ता नेताको काम छैन’, उहाँले भन्नुभयो ।

वाग्मती प्रदेश सबैको आँखा पर्ने ठाउँ भएको बताउँदै ढुङ्गेलले वाग्मतीलाई सबैभन्दा राम्रो बनाउनु पर्ने बताउनुभयो । अहिले अराजकहरू मौलाउन लागेका बताउँदै उहाँले त्यसलाई परास्त गर्नुपर्ने बताउनुभयो । आफ्नो राम्रो कुरा बिकाउन सक्नु पर्ने ढुङ्गेलको धारणा छ ।

कम्युनिष्ट पार्टीमा इगो साँध्ने कुरा गलत भएको उहाँले बताउनुभयो । यो रोग २०७९ सालको निर्वाचनमा लागेको बताउँदै उहाँले यसलाई परास्त गर्न एमालले मिसन ग्रासरुट चलाएको र अहिले त्यसैको जगमा जरा अभियान सुरु गरेको स्पष्ट पार्नुभयो । ‘यस्ता चिज ख्याल गरेर पार्टी निर्माणको काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

विकास विनाको पार्टी र पार्टी विनाको विकास नहुने उहाँले बताउनुभयो । अरु पार्टीले विकासको सपना नै नदेख्ने भएकोले समाजवाद एमाले बाहेक अन्य पार्टीले स्थापना गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।