काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्थिरताको अन्त्य गर्न एमाले र कांग्रेसबीच सहकार्य गरिएको प्रष्ट पार्नुभएको छ ।सरकार परिवर्तन भइरहने रोगको उपचार गर्न यस्तो निर्णय लिइएको सभापति देउवाले बताउनु भयो ।
‘तीन महिना, छ महिना, वर्ष दिनमा सत्ता परिवर्तन भइरहने कुराबाट उन्मुक्तिका लागि अहिले कांग्रेस र एमालेबीच सत्ता समीकरण भएको हो । अहिले दुईवटा पार्टीको बहुमतको सरकार छ, दुई पार्टीको संयुक्त सरकारलाई एकताबद्ध भएर अगाडि बढाउनु पर्छ, यसो गरियो भने भोलि कांग्रेसको सरकार बन्दा पनि सहयोग पाइन्छ’, सभापति देउवाले भन्नुभयो ।
अरू पार्टी पनि सरकारमा समावेश भएकाले अहिले नेपालको राजनीतिमा राम्रो सन्देश गएको सभापति देउवाले बताउनु भयो । कतिपय मतभेद भए त्यसमा छलफल गरेर जीवन्त रूपमा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै सभापति देउवाले नेपालको संविधान राम्रो समावेशी संविधान भएको बताउनु भयो । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भैरहवामा सुरु भएको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले नेपालको संविधानले समानुपातिक आधारमा समावेशिताको सुनिश्चितता गरेको बताउनु भयो ।
देउवाले नेपाली कांग्रेस देशको ठुलो पार्टी भएकोले कांग्रेस पार्टीप्रति सबैको भरोसा भएको बताउनुभयो । ‘नेपाली कांग्रेस ठुलो पार्टी हो, बहुमत ल्याउन सक्ने हैसियत भएको पार्टी हो’, उहाँले भन्नुभयो ।
कांग्रेसका सबै नेताहरू एक भए अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । प्रशिक्षणले पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्ने उहाँले विश्वास गर्नुभयो । ‘नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्ने छ भन्ने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
कार्यक्रममा उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीहरू, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवालगायतका नेताहरू सहभागी हुनुहुन्छ ।
कार्यक्रममा १ सय ६५ संघीय निर्वाचन क्षेत्रमध्ये पार्टीको १ सय ३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २ सय ६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३ सय ३० जनालाई प्रशिक्षण दिइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्