जनता टाइम्स

२९ चैत्र २०८१, शुक्रबार २१:३९

मण्डलेहरू नेपाली समाजलाई पछाडि धकेल्ने प्रयत्न गरिरहेका छन : एमाले महासचिव पोखरेल


धनगढी, चैत २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले सत्य कुरालाई अगाडि ल्याउनु पर्ने बताउनुभएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा शुक्रबार कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकले सत्यलाई सत्य र गलतलाई गलत भन्न सक्नु पर्ने बताउनुभयो । अहिले राजावादीहरूले बहुदल आएपछि केही पनि भएन भनि गरेको प्रचार गलत भएको बताउँदै पञ्चायत र बहुदल आएपछि भएको विकासलाई तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।

राजाको शासनमा जनताका छोरा छोरीले पढ्न समेत नपाएका बताउँदै उहाँले आज जनताका छोरा छोरीले पढ्न र आँखामा आँखा जुधाएर गफ गर्न सक्ने भएका बताउनुभयो । मण्डलेहरूले पञ्चायतमा जनता सुखी थिए भनि भ्रम फिँजाएका उहाँले सुनाउनुभयो । पञ्चायतको तुलनामा नेपालीको जीवनस्तरले अहिले छलाङ मारेको पोखरेलले बताउनुभयो ।

समाजको प्रगति असन्तुष्टिले गराउने बताउँदै उहाँले तर निराशाले समाजलाई अघि बढ्न नदिने बताउनुभयो । नेपाली जनताको विकास प्रतिको असन्तुष्टिको जगमा नै टेकेर देश समृद्धिको यात्रामा अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो ।

सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले हिंसा र आतङ्क सिर्जना गरेर मुलुकलाई भड्खालोमा जाख्न सकिन्छ भन्ने  सपना नदेख्न पनि आग्रह गर्नुभयो । देशलाई पछाडि धकेल्ने गरी पूर्व राजाका नाममा भइरहेका गतिविधिले सार्थकता नपाउने पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज मण्डलेहरू समाजलाई पछाडि धकेल्ने प्रयत्न गरिरहेका छन्’, उहाँले भन्नुभयो ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा उत्पात मच्चाउने, हिंसात्मक घटनाको योजनाकार पूर्व राजाले जनकमाण्डर बनाएका दुर्गा प्रसाईँ रहेका र उनलाई पक्राउ गरेर प्रहरीले कानुनको कठघरामा उभ्याउने प्रक्रिया थालेको उहाँले बताउनुभयो । हिंसात्मक गतिविधिको प्रतिकार गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो । ‘जनतलाई भड्काएर, हिंसा र आतङ्क मच्चाएर देशलाई भड्काखालोमा हाल्न सकिन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सम्भव छैन’, पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले विगतमा देशमा सङ्कट आएको बेला एमाले–कांग्रेस एक भएको स्मरण गर्दै अहिले गणतन्त्रको रक्षाका लागि पनि दुई पार्टीको मुख्य जिम्मेवारी भएको बताउनुभयो । मरिसकेको इतिहासलाई फर्काउने भन्दा पनि समस्या भएको ठाउँमा समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले  अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएकाले त्यसमाथि विजयी हासिल गर्नुपर्ने बताउनुभयो ।  लोकतन्त्र स्थापना भएपछि मुलुकमा थुप्रै विकास, निर्माणका कामका साथै नागरिकको जीवनस्तरमा परिवर्तन आएको चर्चा गर्दै उहाँले तथ्यमा रहेर बहस गर्न जरुरी रहेको बताउनुभयो ।

मुलुकमा राजनीतिक स्थायित्व आवश्यक रहेको र त्यो स्थायित्व कायम गर्ने सामर्थ्य नेकपा एमालेसँग मात्र भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले मिसन–८४ ले आगामी निर्वाचनमा एमालेलाई एकल बहुमतको सरकार बनाउने सामर्थ्य निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अराजकताले समाजलाई पछाडि धकेल्न लागेकोले त्यसको खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । अहिले सामाजिक सञ्जाल मार्फत समाजलाई अराजक बनाउने प्रयास गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।