जनता टाइम्स

३० चैत्र २०८१, शनिबार १५:५८

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ, महासचिवमा बस्नेत निर्वाचित, दुई उपाध्यक्ष र कोषाध्यक्षमा गेलाल समुहको जीत


काठमाडौं, चैत ३० । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित हुनुभएको छ । शुक्रवार भएको निर्वाचनमा शनिवार प्राप्त मतगणनाको अन्तिम मत परिणामअनुसार गुरुङले प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको तर्फबाट नेतृत्व गर्नुभएका अध्यक्षका उम्मेदवार भुवन गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक र संघको पूर्व द्वितीय उपाध्यक्ष हुनुहुन्छ । संघको अध्यक्षमा निर्वाचित गुरुङले ४२८ मत पाउनु भएको छ भने पराजीत उहाँका प्रतिस्पर्धी गेलाले ३६७ मतमा चित्त बुझाउनु भएको छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा अध्यक्षका उम्मेदवार बन्नुभएका गेलाल संघका पूर्वमहासचिव हुनुहुन्छ ।

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको गुरुङ नेतृत्वको प्यानल अध्यक्ष, महासचिवसहित १३ पदमा बिजयी भएको छ भने पराजीत गेलाल समुहबाट प्रथम उपाध्यक्षसहित ४ जना बिजयी भएका छन । निर्वाचनमा प्रथम उपाध्यक्षमा एलाईन्स ह्युमन रिसोर्सका सुजितकुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।

संघका पूर्वमहासचिव श्रेष्ठले ३७५ मत प्राप्त गरी प्रथम उपाध्यक्षमा बिजयी बन्दा प्रतिस्पर्धी नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकालले ३०२ मत मात्र पाउनु भयो । सोही पदमा प्रतिस्पर्धा गर्नुभएका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गर्नुभएको छ । द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम अर्थात ३७८ मत प्राप्त गरी उपबिजेतामा चित्त बुझाउनु भएको छ ।

यस्तै तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याएर विजयी बन्दा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सञ्चालक हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरी उपबिजेतामा चित्त बुझाउनु परेको छ । यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुनुभयो भने गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गर्नुभयो ।

यसैगरी सचिवमा आकृति रिक्रुटिङ प्रालिका संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी अनिल बोगटीले ३११ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत ल्याउनु भयो । कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रालिका सञ्चालक बिक्रम श्रेष्ठले ३५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा रिजा ओभरसिज प्रालिकी सञ्चालिका रेखा शर्माले ४४७, इगल मेनपावर कन्सल्टेन्ट प्रालिका सञ्चालक कृष्ण ढकालले ४४२, युनिभर्सल एचआर सोलुसन प्रालिका सञ्चालक भरत सापकोटाले ४३५, राज ग्रुप अफ कम्पनीका सञ्चालक राज लामा तामाङले ४२७, रसुवा ओभरसिज प्रालिका सञ्चालक सुवर्ण लामाले ४०९, विनर एचआर शोलुशन प्रालिका सञ्चालक हिमा गुरूङले ३४९, रियो ओभरसिज प्रालिकी सञ्चालक रमा खड्काले ३८८, हिमालयन भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरीले ३७७, इम्पेरियल ओभरसिज प्रालिकी सञ्चालक विद्यालक्ष्मी बज्राचार्य ३५३ र सेक्युर नेपाल जब प्रालिका सञ्चालक सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले बिहानै निर्वाचन समितिबाट पद तथा गोपनीयताको सपथ लिइ कार्यभार सम्हालेको छ । यसैबीच नवनिर्वाचित अध्यक्ष गुरूङले संघलाई निश्चित समूहको स्वार्थपूर्तिको माध्यम बन्नबाट रोकेर सवै व्यवसायीको साझा हितमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।