जनता टाइम्स

१ बैशाख २०८२, सोमबार १२:४८

आलोचनालाई स्वीकार गरेर असमझदारी-तिक्तता र निराशालाई चिर्दै अगाडि बढ्नुपर्छ : ईश्वर पोखरेल


काठमाडौं, वैशाख १ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाएर लैजानु पर्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै पोखरेलले सबै मिलेर सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सकिने बताउनुभएको छ ।

‘सामाजिक सद्भाव र त्यसको जगमा टिकेको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने कुरालाई आत्मसात् गर्नु आवश्यकता छ, यी सबै काममा हामी सबै सफल बन्न सकौँ, नयाँ वर्ष २०८२ को सबैमा हार्दिक शुभकामना’, पोखरेलले आफ्नो शुभकामना सन्देशमा लेख्नु भएको छ ।

उहाँले २०८१ सालमा प्राप्त अनुभव र शिक्षालाई आत्मसात् गर्दै जनस्तरबाट आएका टिप्पणी र आलोचनालाई स्वीकार गरेर देखापरेका असमझदारी, तिक्तता र निराशालाई चिर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

‘कुनै पनि किसिमका भ्रम र अफवाह फैलाउने दुष्प्रयत्नका विरुद्धमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उहाँको सन्देशमा उल्लेख छ ।