काठमाडौँ, ५ बैशाख। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो । उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ । गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो ।
अख्तियारले पत्र पठाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारबाट प्राप्त उजुरीमा उल्लेख गरिएका विषयमा के कसो भएको हो रु सोको स्पष्ट रायरप्रतिक्रियासहित सम्बद्ध कागजात सात दिनभित्र उपलब्ध गराउन भन्दै पत्र समेत पठाएको छ ।
पूर्वमन्त्री आलेलाई धनगढी विमानस्थल विस्तारमा जग्गा खरिदमा अनियमितता गरेको भन्दै २०८१ चैत ११ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै पूर्वमन्त्री आलेमाथि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जनाकारी दिएको छ ।
यस्तो छ– आलेलाई अख्तियारमा परेको उजुरी
पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र करोडौँ रकम हिनामिना गरेको स्रोत बताउँछ । मन्त्री हुँदा आलेले धनगढी विमानस्थललाई विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको खुलेको छ ।
आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकदार तथा बिचौलिया पवन गुप्ता र स्वकीय सचिव हेमन्त रेग्मीसमेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गरेको पाइएको छ । आले पर्यटनमन्त्री भएकै बेलामा विमानस्थल क्षेत्र विस्तार गर्ने भन्दै बजेट विनियोजन गरेका थिए ।
बजेट विनियोजन गरेको बेलामै उनले विमानस्थल क्षेत्रमा जग्गा किनेको चर्चा हुँदै आएको थियो । आलेले मन्त्री हुँदा सुरुमा धनगढी विमानस्थल आसपास जग्गा किन्ने तयारी थालेका थिए । त्यसपछि सोही योजनाअनुरुप मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणको मुद्दति खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएको समेत खुलेको छ ।
पूर्वमन्त्री आलेले बैंकमा समेत सेटिङ गरी बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिएका थिए । बैंकबाट १ अर्ब बराबरको ऋण लिएपछि धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किनेका छन् । ३० विघा जग्गामा स्वकीय सचिव रेग्मी, विमानस्थलका ठेकदार गुप्ता पार्टनर बनाइएको छ ।
स्रोतका अनुसार त्यसबेला आलेको समूहले प्रतिकट्ठा साढे १२ लाखका दरले जग्गा किनेका थिए । विमानस्थल बनेसँगै ५० लाख प्रतिकट्ठाका दरले बेच्ने वा व्यापारिक संरचना निर्माण गर्ने योजना उनीहरूको रहेको स्रोत बताउँछ ।
आले मन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र रह्यो । आलेले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत हिनामिना गरेको स्रोतले बताएको छ ।
धनगढी विमानस्थल विस्तारको योजना ल्याएर मुआब्जाका लागि भनेर १ अर्ब बजेटसमेत छुट्ट्याएका थिए । उनले २०७८ सालमै थालेको उक्त योजना अहिले भने अलपत्र बनेको छ । २०७८ पुस ११ गते मन्त्री आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने भनिएको थियो ।
स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको बाहेक अहिलेसम्म विमानस्थलमा अन्य काम अगाडि बढेको छैन ।
गत चैत ८ गते बसेको सार्वजनिक लेखा समितिमा बोल्दै पूर्वमन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको बताएका थिए । आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताको दबाबमा नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक अधिकारीलाई नियुक्ति गर्नुपरेको बताएका थिए ।
‘मलाई एक पटक मेरो पार्टीबाट चिट्ठी आएको थियो– यो–यो मानिसलाई यहाँ नियुक्ति गर्नु भनेर । अब के गर्ने १ समाजवादी नयाँ पार्टी पनि भयो । अलिअलि चलायमान पनि बनाउनुप¥यो,’ उनले भनेका थिए, ‘धेरै दबाबमा, पार्टीका सम्मानित नेता झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त गरेँ ।’
आलेले नियुक्त गरेका प्राधिकरणका महानिर्देशक अधिकारीले नै धनगढी विमानस्थलका लागि जग्गा खरिद शीर्षक नै हटाइदिए । अधिकारीले विमानस्थल विस्तारको लागि बजेट नै हटाएपछि विमानस्थल विस्तारको काम अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्