जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार १५:१२

पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि क्षम्य हुँदैन : गृहमन्त्री लेखक


पोखरा, बैशाख ५ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाको नाममा गणतन्त्रबिरोधी गतिबिधि क्षम्य नहुने चेतावनी दिनुभएको छ । अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिनुभएको हो ।

शुक्रवारबाट सुरु भएको गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई संम्बोधन गर्दै उहाँले संविधान विरोधी गतिविधि सरकार र नेपाली जनतालाई स्वीकार्य हुने प्रष्ट बटमलाइन सुनाउनु भयो । ‘संविधान विरोधी गतिविधिहरुलाई निस्तेज गर्ने, नियन्त्रण गर्ने कुरामा हामी स्पष्ट र दृढ हुनुपर्छ । मुलुकमा संविधान विरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र अहिलेको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरेको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने पटक पटक दोहोर्याउनु भयो । यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गर्दै गृहमन्त्रीले भन्नुभयो, ‘पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुन्न । सरकारको यस कुरामा सवै प्रष्ट भए हुन्छ ।’

उहाँले यो संविधान संसारको उन्नत लोकतान्त्रिक अभ्यास गरिरहेको कुनै मुलुकको संविधान भन्दा कमजोर नरहेको पनि दावी गर्नुभयो । ‘समसायिक संशोधनहरु हुनसक्छन, समाज जसरी विकासको बाटोमा अघि बढ्छ । संविधान पनि त्यसै अनुरुप संशोधन हुन्छन्। अग्रगामी ढंगले, पछाडि फर्किनको लागि हुन सक्दैन। त्यसैले हामीले हामी संविधानलाई आवश्यक संशोधन गर्छौं,’ उहाँको भनाई थियो ।

अहिलेसम्मको संविधानको कार्यान्वयनको सबल र दुर्वल पक्षको मुल्यांकन गरेर राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने जानकारी पनि उहाँले दिनुभयो ।