जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १५:१४

परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री


काठमाडाैँ । अमेरिकी रक्षामन्त्री पेट हेगसेथले यमनमा गरिएको अमेरिकी हवाई हमलाको योजना सिग्नल एपको अर्को निजी च्याट ग्रुपमा पनि साझा गरेको खुलासा भएको छ । १५ मार्चमा पठाइएको सन्देशमा हुथी विद्रोही समूहको ठेगानामा आक्रमण गर्न प्रयोग गरिएको अमेरिकी एफ/ए–१८ हर्नेट विमानको उडान तालिकासमेत समावेश रहेको बीबीसीले बताएको छ । यस च्याट ग्रुपमा हेगसेथकी पत्नी, भाइ र निजी वकिल समावेश थिए ।

हेगसेथकी पत्नी जेनिफर फक्स न्युजकी पूर्वनिर्माता हुन् । उनको पेन्टागनमा कुनै पनि आधिकारिक नियुक्ति छैन । यसअघि पनि विदेशी नेताहरूसँगको बैठकमा आफ्नी पत्नीलाई राखेकोमा हेगसेथको आलोचना हुँदै आएको थियो । उनका भाइ फिल र निजी वकिल टिम पार्लाटोर भने डिपार्टमेन्ट अफ डिफेन्समा नियुक्त छन् । तर, अमेरिकाले गर्न लागेको कारबाहीबारे उनीहरू तीन जनालाई पूर्व जानकारी दिनुपर्ने आवश्यकता किन थियो भन्ने चाहिँ खुल्न सकेको छैन ।

गत महिना अमेरिकी सैन्य कारबाहीबारे छलफल गर्न छुट्टै सिग्नल ग्रुपसमेत रहेको खुलासा भएको थियो । यसलाई द एटलान्टिक म्यागजिनका सम्पादक जेफ्रे गोल्डबर्गले खुलासा गरेका थिए । उनी यो समूहमा ‘झुक्किएर’ समावेश गरिएका थिए । ‘डिफेन्स/टिम हडल’ नाम दिइएको दोस्रो सिग्नल ग्रुपलाई हेगसेथ आफैले बनाएको द न्युयोर्क टाइम्सले बताएको छ । यता, ह्वाइट हाउसले भने सिग्नल ग्रुपमा कुनै गोप्य जानकारी साझा नगरिएको दाबी गरेको छ ।