काठमाडौं, १० वैशाख । एजेन्सी । जम्मु कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकहरूको एक समूहलाई लक्षित गरी हमला गरेका छन्। उक्त हमलामा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा दुई विदेशी नागरिक पनि रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। हमलापछि दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ।
एबीपीका अनुसार पहलगाममा भएको आतङ्कवादी हमलामा दुई विदेशी नागरिकको पनि ज्यान गएको छ। मृतक विदेशी नागरिकहरू नेपाल र यूएईका भएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार दुईदेखि तीन जना आतङ्ककारीले ५० राउन्डभन्दा बढी गोली चलाएका थिए। स्रोतका अनुसार यस हमलामा २८ जनासम्मको मृत्यु भएको आशङ्का गरिएको छ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्रीसँग कुराकानी गरी घटनास्थलको जानकारी लिएका छन् र आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
घटनापछि शोकाकुल परिवारजनसँग भेटघाट गर्ने क्रम बढेको छ। शिवमोग्गा लोकसभा सांसद बीवाई राघवेंद्रले पहलगाम आतंकवादी हमलामा मारिएका शिवमोग्गा निवासीको घर पुगेर परिवारलाई भेटेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यद्यपि, इजरायली दूतावासले पहलगामको आतङ्कवादी हमलामा कुनै पनि इजरायली नागरिकको मृत्यु नभएको स्पष्ट पारेको छ।
यसैबीच, जम्मु कश्मीरको कुपवाड़ामा स्थानीय मानिसहरूले पहलगाम आतङ्कवादी हमलाको विरोधमा मैनबत्ती जुलुस निकालेका छन्।
कांग्रेस महासचिव जयराम रमेशले नृशंस आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले केन्द्र सरकारलाई तत्काल सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दलहरूलाई विश्वासमा लिन समेत आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्