जनता टाइम्स

११ बैशाख २०८२, बिहीबार १६:१९

परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूको प्राथमिकताको आधारमा बजेट छुट्टाउनुपर्ने बताएका छन् । बिहीबार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा काठमाडौँमा आयोजित गरेको आगामी बजेटका प्राथमिकताहरू विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी योजनाहरूमध्ये प्राथमिकतालाई प्रमुख जोड दिन सक्नुपर्ने बताए । उनले पर्यटकीय केन्द्र, उत्पादन क्षेत्र र जनसङ्ख्याको केन्द्रलाई प्रमुख आधार बनाएर बजेट विनियोजन गरी भौतिक निर्माणका कामहरूलाई अगाडी बढाउनुपर्ने बताए । उनले आफूहरूले तीन करोड भन्दा तलका योजनाहरू केन्द्र सरकारले नराख्ने भनेर कार्यविधि बनाए पनि कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपरेको स्मरण गरे । उनले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिने र वितरणको जिम्मेवारी राज्यले लिनु नै आजको समाजवाद भएको बताए । उनले उत्पादनमा सरकार फेल भइसकेको बताउँदै उहाँले उत्पादनको नेतृत्व आम नागरिक र निजी क्षेत्रलाई दिनुपर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री महतले उपस्थित नभई नहुने क्षेत्रमा राज्य संलग्न हुनुपर्ने बताउनु भयो । उनले पूर्वाधारमा लामो समयसम्म प्रतिफल नआउने गरेकोले त्यसमा निजी क्षेत्र नजाने भन्दै त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य निजी क्षेत्रले निःशुल्क नदिने बताउँदै त्यस्तो संवेदनशील क्षेत्रमा सरकारले कदम बढाउनुपर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री महतले केन्द्र सरकारलाई साना-साना लगानी आयोजनाहरू छुट्याइँदा परिणाम निकाल्न नसकेको जिकिर गरे।