जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार ०९:२४

पूर्वराजालाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन, वंशवाद र अनिर्वाचित सत्ता जनतालाई स्वीकार्य छैन : ईश्वर पोखरेल


जनकपुर, २१ वैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बटमलाइन सुनाउनु भएको छ । नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा प्रतिवाद गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

एमालेको धनुषा आठौं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उहाँले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने प्रष्ट पार्नुभयो ।

‘पूर्वराजा नागरिक हुन । यदी उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,’ पोखरेलले भन्नुभयो । उहाँले नेपाली कांग्रेससँगको सत्ता सहकार्यको सन्दर्भमा सहकार्य र प्रतिस्पर्धा दुवै रहेको बताउनु भयो । ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियम जस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौँ । तर, प्रतिस्पर्धा बिर्सिन्नौँ,’ पोखरेलले भन्नुभयो । उहाँले सहकार्य र प्रतिस्पर्धा दुवैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको तथ्य राख्नुभयो । ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ पोखरेलले भन्नुभयो ।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुलीकुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूको उपस्थिती रहेको थियो । अधिवेशन तीन दिनसम्म चल्ने एमाले धनुषाले जनाएको छ ।