काठमाडौं, बैशाख २१ । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतको तुलनामा व्यवस्थित र सही भएको निष्कर्ष निकाल्दै सोहीअनुसारको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकमा सचिवालयका नेताहरूले नीति तथा कार्यक्रमले औल्याएको योजनाअनुसार बजेटलाई परिणाममुखी बनाउन सुझाव दिनुभएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
’सरकारको नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशानिर्देशको हिसाबले पनि बिगतको भन्दा सही भएको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेताहरूले पनि नीति तथा कार्यक्रमलाई सकारात्मक लिँदै बजेटलाई ठोश र परिणाममुखी बनाउन सुझाव दिनुभएको छ,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
बजेटबारे सुझाव दिँदै नीति कार्यक्रमले भनेजस्तै बजेट पनि एकदमै ठोश र परिणामुखी होस भन्ने चाहना राखेको ज्ञवालीको भनाई छ । बिगतमा नेतापिच्छे योजना राखिएको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई एमालेले सुझाएको छ । संघ सरकारले राष्ट्रिय स्तरका रणनीतिक परियोजना फोकस गरी बाँकी कुराहरु प्रदेश र स्थानीय तहलाई दिनुपर्ने नेताहरुको सुझाव छ ।
यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने र त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकको समानान्तर सडक निर्माण हुनुपर्ने सुझाव दिइएको ज्ञवालीले बताउनु भयो । यस्तै उहाँले आगामी बजेटमा योजनाहरू छान्दा स्रोतको विषयमा पनि ध्यान पुर्याउन जोड दिइएको बताउनु भयो । विचार नपुर्याइ योजना छान्दा अहिले पनि एक अर्ब बढीका योजनाहरू भद्रगोल अवस्थामा रहेको एमाले नेताहरूको सुझाव छ ।
’यसपटकको बजेट राष्ट्रिय आयोजनामा केन्द्रित हुनुपर्छ । साना तिना आयोजनाहरू प्रदेश र स्थानीय तहलाई दिनुपर्छ । आयोजना छान्दा स्रोतको पनि पहिचान गर्नु आवश्यक छ । स्रोत पहिचान नगर्दा अहिले पनि खर्बौंका आयोजना भद्रगोल बनेको अवस्था छ,’ एमाले नेताहरूको सुझाव उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँले थप्नुभयो, ’बजेटमा उत्पादन र उत्पादकत्वमा जोड दिन र किसानहरूलाई प्रविधिमैत्री बनाउन सुझाव आएको छ । कृषिको इकोसिस्टमलाई चलायमान बनाउन एमाले नेताहरूले जोड दिनुभएको छ ।’
एमालेले बजेटमा जेन्जी पुस्तालाई सूचना प्रविधिमा सहभागी गराएर पनि फड्को मार्न सुझाव पनि दिएको छ । सरकारले जेन्जी पुस्तालाई प्राथमिकतामा राख्ने र स्टार्टअप कार्यक्रम सुरू गर्ने नीति लिएको छ । सोहीअनुसारको बजेट ब्यवस्था गर्न एमालेले सरकारलाई भनेको हो ।
प्रतिक्रिया दिनुहोस्