जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार १९:००

सामूहिक प्रयत्न लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्वसर्त हुन : राष्ट्रपति


काठमाडौं, बैशाख २५ । राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने बताउनु भएको छ ।

नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो धारणा राख्नुभएको हो । ‘लेखक स्वयंमा सत्ता हो, सङ्गठन, विचार र आफैँमा अभियान पनि हो,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

मुलुकभरका ३०१ प्रतिनिधि सहभागी सङ्घको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उक्त कार्यसमितिलाई राष्ट्रपति पौडेलले बिहीवार राष्ट्रपतिभवन शीतल निवासमा एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो । उहाँले सङ्घले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गर्नुभयो ।

लेखक सङ्घले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको भन्दै उहाँले यी कुराहरु लोकतान्त्रिक व्यवस्थाको आर्दशका लागि पूर्वसर्त हुन भन्नुभयो । राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक सङ्घमार्फत पूरा गर्न खोजेको यसका पुराना दस्तावेजहरूले देखाएको बताउनुभयो ।

लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथीहरू सङ्गठित भएको लेखक सङ्घमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलगायतका हस्तीहरु पनि एकबद्ध भएको उहाँले चर्चा गर्नुभयो । लोकतन्त्रवादी लेखकहरु लोकतान्त्रिक प्रणालीका पक्षधर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सात दशक लामो प्रक्रियामा लोकतन्त्रका आदर्शहरु धेरै सन्दर्भमा विशिष्टिकृत भएको विचार व्यक्त गर्नुभयो ।

नेपाली लेखक सङ्घको स्थापना २००८ सालमा भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू सङ्गठित भएर सङ्घको स्थापना गरेको इतिहास छ । विसं २०१७ पछिको पञ्चायती कालखण्डमा निष्क्रिय रहेको सङ्घ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचनासहित पुनःक्रियाशील बनेको हो ।

नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकहरूको हकअधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु यसको ध्येय रहेको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा शशी थापा पण्डित, डा विष्णु केसी, उपमहासचिव नारायण सापकोटा, केन्द्रीय सदस्यहरु महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै सङ्घका सल्लाहकारहरु डा विष्णुविभु घिमिरे, सन्ध्या पहाडी, शेखर गिरीलगायतको उपस्थिति थियो ।