जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १३:१६

गैह्रआवसीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउनु पर्छ : प्रधानमन्त्री 


काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघलाई मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।

गैह्रआवसीय नेपाली संघले आयोजना गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्दै ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्ति देखाउन नहुने बताउनुभयो ।  उहाँले सङ्कीर्ण भावना त्यागेर उन्नत स्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । ‘यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन, व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन, महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन, यसमा विवेक र तर्कले कम गरोस्’, उहाँले भन्नुभयो ।

व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा संस्थालाई प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो । ‘नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईँहरू विचलित हुन हुँदैन, यसमा दलीय राजनीति गर्नु हुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन, विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ’, ओलीले भन्नुभयो ।

उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने बताउनुभयो ।