जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार ११:०५

हिमाल जोगाउनु भनेकै पृथ्वी र मानवता जोगाउनु हो : प्रधानमन्त्री


काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु भनेको पृथ्वी जोगाउनु भएको बताउनुभएको छ ।

नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाल जोगाउन सक्दा मात्र महासागर र स्वयं मानवता जोगाउन सकिने बताउनुभएको छ ।  यो यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको उहाँले बताउनुभयो ।

पृथ्वीलाई जोगाउन सबै इमानदार भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट यो संवादको जन्म भएको उहाँले जानकारी दिनुभयो । ‘यो संवाद—त्यत्तिकै उच्च बनोस्, उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अहिले नेपालीका घर बासहरू पहिरोहरूले बगाइरहेका बताउँदै उहाँले नेपाल जस्ता देशको उत्सर्जन न्यून भए पनि वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।