काठमाडौं, ५ जेठ । सिरहाबाट लागुऔषध र स्रोत नखुलेको रकमसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् ।लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् ।
दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।गत शुक्रबार साँझ ७ बजेको को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको डिएसपी पासवानले बताए ।
साथै एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद समेत बरामद भएको छ । दुवैजना लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।दिनेश यसअघि यसअघि ३ साउन २०८० मा ३।६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी ५ माघ २०८० मा छुटेका थिए ।
यस्तै प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डीकारोबारी रहेको विशेष सूचनाको आधारमा शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले जानकारी दिनुभयो ।
सिरहाबाटै औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्