काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदमा रहँदा त्यस्को दुरुपयोग गरी कुनै पनि आफन्तलाई कहीँ–कतै अवसर दिएको प्रमाण भए सार्वजनिक गरी आफूहरुलाई गलत सावित गरिदिन खुला प्रस्ताव गर्नुभएको छ । प्रेस चौतारी नेपालले उहाँको दोस्रो पुस्तक ‘करुणा’ बारे सम्पादकहरूसँग आयोजना गरेको सम्वादमा शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।
सम्पादकहरूसँगको संवादमा करुणाकी लेखिका शाक्यले ओली राज्यको विभिन्न पदमा हुँदा कोही पनि नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको बताउनु भयो । ‘केपी सर पदमा रहँदा, मन्त्री, प्रधानमन्त्री हुँदा कोही पनि आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन । हामीबाट त्यो कुरा भएको छ, मेरो कुरा गलत लाग्छ भने तपाईहरुले कृपया प्रमाण सार्वजनिक गरिदिनोस,’ शाक्यले भन्नुभयो ।
उहाँले आफू कडा स्वभावको भएकै कारण कोही पनि आफूसँग कुनै प्रकारको माग र आकांक्षा लिएर नआउने र प्रधानमन्त्री ओलीले पनि त्यस्तो काममा लागिन्न भन्ने प्रष्टै जवाफ दिने गरेको तथ्य सुनाउनु भयो । ‘मसँग त त्यस्तो माग लिएर कोही आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ प्रधानमन्त्रीपत्नी शाक्यले सुनाउनु भयो, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ कि भनेर खोज्ने रहेछन, मेरो बहिनीहरु त्यस्को मारमा धेरैपटक परेका पनि छन ।’ उहाँले घरतिरका भन्दा पनि आफ्ना माइती पक्षका मानिसलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको घटना सुनाउनु भयो ।
मानिसहरूले पहुँच बनाइदिनका लागि आफ्नो कान्छी बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण आफ्नो गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको घटना पनि शाक्यले सुनाउनु भयो । ‘हाम्रो नातागोतालाई कहीँ–कतै सानो ठुलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्नुस, भेटटाउनु भयो भने भन्नोस, म तपाईहरुलाई अनुरोध गर्छु,’ शाक्यले थप्नुभयो, ‘एक जना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन अहिलेसम्म ।’
शाक्यले आफूहरुले पदको दुरुपयोग नगरेको भए पनि बाहिर सवै उस्तै होलान भन्ने कुराले अनेक आक्षेप लगाउने गरेको र त्यो घटनाको एउटा प्रमाण आफ्नै बहिनी रहेको बताउनु भयो । केपी ओलीले सवै नातागोतालाई गाडीको सुबिधा दिएको भनेर कान्छी बहिनीलाई ट्याक्सी चालकले भनेको र अनेक आक्षेप लगाएको घटना शाक्यले बहिनीले सुनाएको बताउनु भयो ।
‘मेरो कान्छी बहिनी नर्स हो, प्रसूति अस्पतालको स्टाफ नर्स, साँझ क्लिनिकमा पनि काम गर्ने गरेकी रहिछन । एकदिन क्लिनिकमा जान हतार भएर ट्याक्सी चढेर गइछन,’ शाक्यले सुनाउनु भयो, ‘ट्याक्सी चालकले बाटोमा राजनीतिक विषयबारे चर्चा गर्दै केपी ओली यस्तो–उस्तो भनेर अनेक कुरा भनेछन । ओलीले नाता–गोतामात्र हेर्छ, आफन्तलाई गाडीलगायत विभिन्न सुविधा दिन्छ भनेर ट्याक्सी चालकले भनेछ । त्यो सुनेर बहिनीलाई खुब रिस उठेछ ।’
उसैले चलाएको गाडीमा चढेको छ तर ओलीले आफन्तलाई गाडी–सुविधा दिएको छ भनेर त्यो चालकले भनेको कुरा सुन्दा बहिनीलाई अति नै रिस उठेको र ओर्लने बेला मै हो साली केपीको, गाडी सुबिधा दिएको भए तपाईंको ट्याक्सी चढथें होला भनेर जवाफ फर्काएको शाक्यको भनाइ थियो ।
‘रिसको पारा चढेपछि ट्याक्सीबाट झर्ने बेलामा चालकलाई बहिनीले सले गाली गरिछ । म ओलीको साली हो, हामीले कहाँबाट डागी सुविधा पाएको छ ? सुविधा पाएको भए तिम्रो ट्याक्सीमा चढ्नु पथ्र्यो र भनेर उसले बेस्सरी भनिछ,’ घटना सुनाउँदै शाक्यले भन्नुभयो । सम्पादकहरूसँग खुलेर प्रस्तुत हुनुभएकी प्रधानमन्त्रीपत्नी शाक्यले आफू राजनीतिमा नआउने प्रष्ट बटमलाइन पनि सुनाउनु भयो । राजनीतिमा आउन लागेको हो भन्ने सम्पादकहरूको प्रश्नबारे टिप्पणी गर्दै शाक्यले आफू एक सामान्य नेपाली नागरिक भएको र आफ्नो विचार किताबमार्फत व्यक्त गरेको बताउनु भयो ।
‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु,’ शाक्यले भन्नुभयो, ‘तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन, म आउएदा पनि आउँदिन, तपाईंहरू ढुक्क हुनोस–त्यो मेरो बाटो हुँदा पनि होइन ।’ शाक्यले राजनीतिमा नआए पनि आफू राजनीतिप्रति चासो राख्ने र जानकार भएको बताउनु भयो । ‘म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु,’ शाक्यले भन्नुभयो ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र महासचिव हिरामान लामाले सञ्चालन गर्नुभएको सम्वादको क्रममा शाक्यले प्रधानमन्त्री केपी ओलीको अध्यययन, दिमागदेखि कमजोरीसम्मका बिषयमा खुलेर प्रस्तुत हुनुभएको थियो । कार्यक्रममा समालोचक, बरिष्ठ साहित्यकार डा. देवी नेपाल र बरिष्ठ पत्रकार बबिता बस्नेतले शाक्यको पुस्तक ‘करुणा’ को बिषयमा आफ्नो समीक्षात्मक धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्