गाजा, ७ जेठ । संयुक्त राष्ट्र संघले गाजामा अझै कुनै राहत वितरण नभएको बताएको छ । राहत वितरण नहुँदा भोकमरीको समस्या बढ्दै जानुको साथै चरम मानवीय संकट उत्पन्न भएपछि राहत बोकेका केही ट्रक प्रवेश गर्न भने थालेका छन् ।
मंगलबार ९३ ट्रकले सीमा पार गरे पनि राहत वितरण भने हुन सकेको छैन । पिठो, बालबालिकाका लागि खानेकुरा र स्वास्थ्योपचारका सामग्री लिएर ती ट्रक पुगेका हुन् ।
राष्ट्र संघले बताए अनुसार राहत सीमाबाट पार भए पनि सम्बन्धित स्थानमा प्रवेशका लागि इजरायलको सहयोग खोजिरहेको छ ।
अहिले गाजामा अति आवश्यक वस्तुको समस्या समाधान गर्न कम्तीमा दैनिक ६ सय ट्रक राहत आवश्यक पर्ने बताइएको छ । राष्ट्र सङ्घका टम फ्लेटचरले तत्काल राहत वितरण नभए ४८ घण्टा भित्रमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।
विश्वव्यापी रूपमा दबाब उत्पन्न भएपछि इजरायलले आइतबार अति आवश्यक विषयलाई प्रवेश गर्न दिइने जनाएको थियो ।
गाजाको अवस्था सहन नै नसक्ने भएका कारण व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले बताएका छन् । स्टेइमरले त्यहाँको अवस्था स्वीकार गर्न नै नसकिने भएको बताए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्