काठमाडौं, जेठ ७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै काम गर्न हतोत्साहित बनाउने योजनासहित नियोजित रुपमा दुःख दिने गरेको खुलासा गर्नुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बुधवारको बैठकमा बोल्दै उर्जामन्त्री खड्काले बिपक्षी दलहरूले काम गर्न हतोत्साही बनाउने योजना बनाएर आफूलाई विदेशबाट फोन गरेर बत्ती गयो भन्दै हैरानी पारेको तथ्य खोल्नुभयो ।
‘कतिसम्म दुःख दिन थालियो भने बिदेशमा बसेर फोन गर्ने अनि लोडसेडिङ भयो भन्ने, बुझ्दा त बत्ति गएकै छैन, यस्तो घटना लगातार हुन थाल्यो,’ मन्त्री खडकाले तथ्य खोल्नुभयो, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ,’ मन्त्री खडकाले तथ्य खोल्दै भन्नुभयो, ‘पटक–पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’
विद्युत अवरुद्ध हुँदा नेपाल विद्युत प्राधिकरणले कारणसहित सूचना दिने गरेको पनि मन्त्री खड्काले स्पष्ट पार्नुभयो । ‘अवरुद्ध भएको खण्डमा यसकारण अवरुद्ध भयो भन्ने गरेका छौँ,’ उर्जामन्त्री खडकाले भन्नुभयो, ‘उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौं ।’
लोडसेडिङ हल्ला मात्रै
मन्त्री खडकाले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको जिकिर गर्नुभयो । ‘लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन,’ उनले भन्नुभयो, ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला–ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ ।’
उहाँले कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष नरहेको जिकिर गर्नुभयो । ‘अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ,’ खडकाले भन्नुभयो । नेपालमा विद्युत उत्पादन बढिरहेको उहाँले बताउनु भयो । ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत् आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत् बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो,’ उहाँले भन्नुभयो ।
मन्त्री खड्काले सरकारले विद्युत निर्यात गरिरहेको बताउनु भयो । ‘अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं,’ मन्त्री खडकाको भनाई थियो ।
उर्जामन्त्री खड्काले खड्काले उद्योगधन्दाहरूमा पर्याप्त विद्युत् दिएको दाबी पनि गर्नुभयो । यो हिउँदमा पर्याप्त विद्युत् दिन नसकेको भए पनि मंगलबार रातिबाट उद्योगधन्दालाई पुग्ने गरी विद्युत दिइएको दावी मन्त्री खडकाको छ । ‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत् दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ,’ खडकाले भन्नुभयो, ‘यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको र आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताउनु भयो । बैठकमा आफ्नो कुरा राख्ने क्रममा मन्त्री खडकाले कसैको नाम नलिई कुलमान घिसिङको देवत्वकरण गरेर बिपक्षी दल र सत्तारुढ दलभित्रकै पनि बिकास बिरोधी तत्वहरुले अनावश्यक अफवाह फैलाउने काम गरेको तथ्य सुनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्