जनता टाइम्स

८ जेष्ठ २०८२, बिहीबार १८:१२

सुन्दरताभित्र लुकेको डरलाग्दो कथा : नत्र बलात्कारमा फसाइदिन्छु


काठमाडौंमा पुरुषहरुलाई धमाधम फसाउने धन्दा चलाइएको तथ्य उजागर भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईजना महिलालाई पक्राउ गरेपछि हनी ट्रयापमा पारेर मागेजति पैसा नदिए बलात्कारमा फसाइदिन्छु भन्दै असुली धन्दा चलाएको तथ्य उजागर भएको हो ।

काठमाडौं, जेठ ८ । सुन्दर अनुहारर आकर्षक जीउडालभित्र कतिसम्मको आपराधिक योजना लुकेको हुँदोरैछ भन्ने कुरा काठमाडौंमा हालै घटेको एउटा घटनाले छर्लंग पारिदिएको छ ।

आफूलाई ठूलाबडासँग जोडेर आकर्षक बन्दै हिडने दुई युवतीले योजनावद्ध रुपमा हनी ट्र्पाटमा पार्ने गरेको घटना बाहिर आएपछि यस्तो डरलाग्दो योजनाको पर्दाफास भएको हो ।प्रहरीका अनुसार पैसा भएका ब्यक्ति छानेर आफैले बोलाउने अनि बार्गेनिङ गरी असुली धन्दा चलाउने र नमानेमा ‘…नत्र बलात्कारमा फसाइदिन्छु’ भन्दै सुन्दरताको आडमा अपराधको धन्दा चलाएको पाइएको हो ।

प्रहरीले हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० निवासी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ निवासी ३४ वर्षीया आँचल चौगुठी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ र चौगुठीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।

तामाङ र चौगुठीले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोप छ । ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओसमेत लिएर ब्ल्याकमेलिङ गर्नुका साथै बलात्कार अभियोगमा फसाइदिने धम्की दिएको आरोप तामाङ र चौगुठीमाथि रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा फेलापरेको तथ्यअनुसार सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउने धम्की दिएका थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।