काठमाडौं, ९ जेठ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनु परेकाहरू एमाले विरुद्ध आक्रमणमा उत्रिएका बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव पोखरेलले आज पार्टी माथि भएको आक्रमण कसका तर्फबाट भइरहेको छ भन्ने कुराको विवेचना गर्ने हो भने हिजो एमालेसँग मिलेर सत्तामा गएकाहरू आज सत्ताबाट हट्नु पर्दा एमाले विरुद्ध विष बमन गर्न लागेको बताउनुभयो । ‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा माओवादी र तिनका कार्यकर्ता सबैभन्दा बढी आक्रामक रूपमा प्रस्तुत भएका छन्’, उहाँले भन्नुभयो ।
कुनै बेला माओवादीको लागि एमाले सबैभन्दा प्यारो भएको बताउँदै उहाँले माओवादीहरू त्यति बेला एमाले अध्यक्षकोमा धाउने गरेका बताउनुभयो । एमालेले कुनै गलत काम गरेको कारण नभई माओवादी सत्ताबाट हट्नु परेको कारण एमालेको विरुद्ध आक्रमणमा उत्रिएको उहाँको भनाइ छ ।
एमाले सरकारमा रहँदा देशले विकास र समृद्धिको गति लिने पोखरेलले बताउनुभयो । एमाले सरकारबाट हट्ने बित्तिकै मुलुकको अर्थव्यवस्था ओरालो लाग्ने गरेको उहाँले सुनाउनुभयो । एमाले सरकारबाट हटेपछि विकास ठप्प भएको तथा निर्माण व्यवसायीले समेत रकम भुक्तानी पाउन छाडेपछि एमाले र कांग्रेस मिलेर सात बुँदे सहमति गरेर सरकार गठन गरेका पोखरेलले सुनाउनुभयो । दुई ठुला दलको सरकार बनेपछि देशमा आर्थिक र अन्य विकासले गति लिएको उहाँको भनाइ छ ।
‘सत्ताबाट बाहिरिएकाले सरकारको सफल नेतृत्व गरिरहेको पार्टी र नेतृत्व माथि प्रहार गरिरहेका छन्, यो सत्ताबाट हट्नु पर्दाको कुण्ठा हो पीडा हो भन्ने हामीले बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।
१५ महिना अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा धाउने रास्वपाका नेता कार्यकर्ताहरू अहिले एमालेको सबैभन्दा विरोधी भएका उहाँले बताउनुभयो । आफ्नै कर्मका कारण सो पार्टीका सभापति रवि लामिछाने जेल परेपछि रास्वपाका कार्यकर्ताहरू पनि एमाले विरुद्ध खनिएका पोखरेलको भनाइ छ ।
त्यस्तै एमाले रहँदासम्म राजतन्त्र फर्काउन नसकिने अवस्था देखेपछि अहिले राप्रपा एमालेको विरुद्ध प्रहार गर्न लागेको उहाँले बताउनुभयो । एमाले सही बाटोमा हिँडेकै कारण एमाले माथि प्रहार भइरहेको पोखरेलको धारणा छ ।
एमाले माथिको प्रहार नेपाल र नेपाली जनताको भविष्य माथिको प्रहार भएको पोखरेलले स्पष्ट पार्नुभयो । मुलुकलाई सही बाटोमा डोर्याउने पार्टी एमाले भएकाले यसलाई सबै मिलेर अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो ।
पोखरेलले देश विकासको गतिमा अघि बढेकोले अहिले युवा पङ्ति प्रभावित हुनु पर्ने वा उद्वेलित हुनु पर्ने कुनै आवश्यकता नरहेको पोखरेलले बताउनुभयो । देश विकासको काम एमालेले गर्छ भन्ने कुराको दृष्टान्त एमालले प्रस्तुत गरेको पोखरेलले सुनाउनुभयो ।
पोखरेलले हिजो सुरुङ र रेलको विरोध गर्नेहरू आज तिनै साधन स्रोत प्रयोग गर्न अवस्थामा पुगेका पोखरेलले बताउनुभयो । हिजो यी कुरा गर्दा एमालेलाई खिसी गर्नेहरू आज तिनै साधन प्रयोग गर्ने अवस्थामा पुगेको पोखरेलले सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्