विराटनगर, जेठ १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिनुभएको छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।
उहाँले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताउनुभयो । नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताउनुभयो ।
उहाँले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गर्नुभयो । उहाँले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने समेत बताउनुभयो । त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्