जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १५:४९

भिजिट भिषा काण्डबारे गृहमन्त्री लेखक : म अहिले धेरै बोल्दिनँ


जनकपुर, जेठ १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकले मुख खोल्नुभएको छ ।

गृहमन्त्री लेखकले भिजिट भिषाको विषयबारे प्रष्ट पार्नेगरी मन्त्रालयले विज्ञप्ति जारी गर्ने जानकारी पनि दिनुभएको छ । धनुषामा आइपुग्नुभएका गृहमन्त्री लेखकले पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका यस बिषयमा आफ्नो धारणा राख्नुभएको हो ।

‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन। म दुई तिन दिन चुपो लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहको थिएँ,’ गृहमन्त्री लेखकले भन्नुभयो । उहाँले भिजिट भिषाको बिषय र आफूमाथि लगाइएको आरोपको बिषयमा आफूले धेरै कुरा जानकारी पाइसकेको पनि बताउनु भयो ।

‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

यस विषयमा आफूले पार्टी पंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि उहाँले दाबी गर्नुभयो । ‘यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने केही कुरा छैन । मैले जीवनभरी राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ,’ लेखकले भन्नुभयो, ‘जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगबाट छानबिन हुन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिषाको विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको छ । अख्तियारले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको बेला गृह मन्त्रालयले शुक्रबार १४ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।