काठमाडौं, ११ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरेका छन् ।नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ । पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ ।
चीन सरकारले उहाँलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ । आजै साँझ पूर्वराष्ट्रपतिको सम्मानमा चिनियाँ पक्षले बैंक्वेट डिनर आयोजना गरेको छ । सो समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरूका साथै अन्य छिमेकी देशका नेताहरू समेत सहभागी हुनेछन् ।बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उहाँको सहभागिता रहनेछ ।पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथि हुनुहुने छ ।
सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम भने सोमबार विहान आयोजना गरिने तालिकामा उल्लेख छ । शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । भ्रमणमा सहभागी विभिन्न राजनीतिक व्यक्तिलाई समेत विभिन्न कार्यक्रममा महत्वका साथ भूमिका दिइने तालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्