काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारसँग जोडेर अनावश्यक उछालेको निष्कर्ष निकालेको छ ।
बालुवाटारमा केही मन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागि हुनुभएको थियो। छलफलमा गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या भएको निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले बताउनुभयो । उहाँका अनुसार आइतबारको छलफल विशेषगरी बजेटसँग सम्बन्धित थियो । तर गृहमन्त्री रमेश लेखक पनि उपस्थित भएकाले अध्यागमनका सम्बन्धमा पछिल्लोपल्ट आएका विषयमा पनि समीक्षा भएको उहाँले बताउनुभयो ।
‘गृहमन्त्रीको संलग्नताका सम्बन्धमा रास्वपाले अनावश्यक उछाल्ने काम गरेको छ,’ ती नेताले भन्नुभयो, ‘उहाँको केही छँदै छैन । कर्मचारीलाई समातेका कारण गृहमन्त्रीले राजीनामा दिने भन्ने कुरा कहाँबाट आउँछ ? रवि लामिछानेको उदाहरण दिएर नौटंकी गर्ने ?’
उहाँले एउटा कर्मचारीले बदमासी गर्दा विभागीय मन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष निकालिएको दाबी गर्नुभयो । कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेको को हो भन्ने प्रश्नमा उहाले भन्नुभयो , ‘त्यो तुच्छ राजनीति हो ।’ बैठकमा गृहमन्त्री लेखकले १३ गते बोलाइएको प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्