जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ०९:३१

गणतन्त्रका बिरोध गर्नेहरू जनता विरोधी हुन् भन्नेमा कोही पनि भ्रममा नपरौं : शंकर पोखरेल


काठमाडौं, जेठ १२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनता विरोधी भएको ठोकुवा गर्नुभएको छ ।

लोकतान्त्रिक गणतन्त्र विरुद्ध हुन गतिविधिहरू जनताका विरुद्धका गतिविधि भएको पोखरेलका ठहर छ । यसको विरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्नेमा महासचिव पोखरेलको जोड छ । ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताविरुद्धका गतिविधिहरू हुन भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनुपर्दछ,’ पोखरेलले भन्नुभयो ।

गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उहाँले स्पष्ट पार्नुभयो । पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवको रूपमा मनाउन आमजनसमुदायलाई एमालेले आह्वान गरेको छ ।

जिल्ला कमिटीको संयोजन र पालिका कमिटीको आयोजनामा पालिका स्तरमा देशभरी गणतन्त्र दिवस मनाउने निर्णय एमालेले गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकी सहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।

प्रदेश कमिटी र जिल्ला कमिटीहरुले विभिन्न संघसंस्थाहरुलाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्ने पोखरेलले जानकारी दिनुभयो । आवश्यकता अनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यका बाहिर प्रदेश र जिल्लाले नेतृत्वलाई परिचालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।