काठमाडौं, १४ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्नुहुने भएको छ ।
यस्तै, बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ ।
स्रोतको चापमा परेका बेला सरकारलाई ठूलो आकारको बजेट ल्याउन सकस परेको छ । अर्थतन्त्र सुस्त गतिमा भएकाले राजस्व वृद्धि घटेर ११ प्रतिशत हाराहारीमा रहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले धेरै नीतिगत व्यवस्था गर्ने अनुमान गरिएको छ ।
बजार चलायमान नहुँदा उत्पादन घटेको र यसले समग्र अर्थतन्त्रमा असर गरेको छ । जसले गर्दा लगानीकर्ता र आमसर्वसाधारणमा निराशा देखिएको छ । अर्थतन्त्र सुस्त भएर बजारमा माग घटेपछि व्यवसायीको मनोबल खच्किएको छ । बजारमा माग बढाएर अर्थतन्त्र गतिशील बनाउन व्यवसायीको मनोबल उठाउनुपर्ने चुनौती छ ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र चलायमान बनाएर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न पोलिसी डिपार्चर गर्ने संकेत गर्नुभएको छ। पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको धेरै सुझावलाई बजेटमा समावेश गरिएको छ । यस्तै, सरकारले आयोगको सुझाव कार्यान्वयनका लागि कार्ययोजना समेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्