जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार २२:३८

पूर्वराजालाई गद्दीमा राख्ने राजवादीहरूको सपना मृग मरिचिका मात्र : शंकर पोखरेल 


काठमाडौं, १५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेठ १५ राजालाई नारायणहिटीको गद्दीमा बसाउने सपना देख्नेका सपना चकनाचुर भएका बताउनुभएको छ ।

जनताको सम्प्रभुतालाई चुनौती दिनेको सपना मृग मरिचिका जस्तै भएको पोखरेलको धारणा छ । गणतन्त्र दिवसको अवसरमा एमालेले गणतन्त्र उत्सवमा देखिएको नागरिक सहभागिताले राजावादी भनिएकाहरू दुलाभित्र परेका उहाँको धारणा छ । ‘देशभरिका मान्छे एक ठाउँमा भेला भएर जनताको सम्प्रभुतालाई चुनौती दिँदै आजका दिन गद्दी आसीन हुने सपना देखिरहेका थिए राजावादीहरूले, उनीहरूको त्यो सपना मृग मरिचिका बाहेक केही होइन भन्ने कुरा नेकपा एमालेको जनउत्सवले प्रमाणित गरिदिएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।

गणतन्त्र दिवस नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको दिन भएको उल्लेख गर्दै पोखरेलले आजको दिन जन्मसिद्ध श्रेष्ठताको सामन्ती राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर जनताले चुनेको व्यक्ति राज्यको प्रमुख हुने पूर्णलोकतान्त्रिक व्यवस्था स्थापना भएको दिन भएको बताउनुभएको छ । ‘वास्तवमा नेपाली जनता नेपाल राष्ट्रको वास्तविक मालिक भएको दिन, उक्त दिनलाई नेकपा एमालेले जन उत्सवका रूपमा भव्य समारोहको आयोजना गरेर मनाएको छ, जन उत्सवलाई भव्य रूपमा सम्पन्न बनाउन योगदान गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद, आगामी वर्षको गणतन्त्र दिवस अझै व्यापक र भव्य हुनेछ, त्यो दिन वास्तवमै सबैको साझा उत्सवको दिन हुनेछ’, उहाँले लेख्नु भएको छ ।