जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार २१:३७

जसले यो व्यवस्थाबाट धेरै लाभ लिएका छन्, उनीहरू नै व्यवस्थाको विरोध गर्दै हिँडेका छन् : लब श्रेष्ठ 


रामेछाप, १५ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अधिकारको कुरा गर्दा कर्तव्यको पनि ख्याल राख्नु पर्ने बताउनुभएको छ ।

प्रेस युनियन रामेछापले बिहीबार मन्थलीमा आयोजना गरेको लोकतन्त्रमा प्रेसको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले मानिसले कर्तव्य भुल्दा समाज अराजक बन्दै गएको बताउनुभयो । ‘लोकतन्त्र आएपछि दिने कुरा हराएको छ, लिने कुरामा मात्रै जोड छ’, उहाँले भन्नुभयो ।

अहिले समाजमा भ्रामक कुराको प्रचार गर्ने र सबैको विरोध मात्रै गर्ने क्रम बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘राज्य सत्ताको सेवा सुविधा लिने, यही व्यवस्था भित्र रहेर सुविधा उपयोग गर्ने, अनि यो संविधान र व्यवस्था ठिक छैन भन्नेहरू पनि देखिएका छन्’, श्रेष्ठले भन्नुभयो ।

उहाँले आम मासिनभन्दा राज्य र यो व्यवस्थाबाट सुविधा लिएकाहरू नै यो व्यवस्था ठिक भएन भनेर हिँडेका बताउनुभयो । ‘जसले यो व्यवस्थाबाट धेरै लाभ लिएका छन्, उनीहरू नै यो व्यवस्थाको विरोध गर्दै हिँडेका छन्’, उहाँले भन्नुभयो ।

जनताका छारो छोरी राष्ट्र प्रमुख हुने, जनताका छोरा छोरीले नै राष्ट्र प्रमुख चुन्ने व्यवस्था गणतन्त्र बाहेक अन्त कतै नहुने उहाँले बताउनुभयो । लोकतन्त्रले धेरै कुरा दिएको बताउँदै उहाँले त्यसको उपलब्धिको बारेमा प्रचार गर्न नसक्दा लोकतन्त्रलाई नै खतरामा पार्ने प्रयत्न भएको बताउनुभयो ।