काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रूपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोर मैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार लागेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रिय सभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिष्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरूले माथि लगिइदिइहाल्छन् भनेर सगरमाथा आरोहणलाई हल्का बनाउन नहुने बताउनुभयो । उहाँले लागु औषध खाएर सगरमाथा चढ्ने भन्ने कुरा पनि आफूले सुनेकाले त्यस्तो खेलबाड नगर्न आग्रह गर्नुभयो ।
स्वदेश र विदेशका कीर्तिमानी आरोहीलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्