जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार २२:०८

लोकतन्त्र माथि चुनौती छ भने लोकतन्त्रवादी भनिएका शक्तिबाटै छ : पुरुषोत्तम कडरिया 


काठमाडाै‌ं, १५ जेठ । नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले गणतन्त्रलाई बाह्य शक्तिबाट कुनै खतरा नरहेको बताउनुभएको छ ।

प्रेस युनियन रामेछापले बिहीबार मन्थलीमा आयोजना गरेको लोकतन्त्रमा प्रेसको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै कडरियाले यदाकदा देखिएका विरोधका स्वरले गणतन्त्रलाई हल्लाउन नसक्ने बताउनुभयो । लोकतन्त्र माथि लोकतन्त्र विरोधी शक्तिबाट चुनौती नरहेको उहाँको दाबी छ । ‘लोकतन्त्र माथि चुनौती छ भने त्यो लोकतन्त्रवादी भनिएका शक्तिबाटै छ’, उहाँले भन्नुभयो ।

कडरियाले लोकतन्त्रले केही दिएन भन्नेहरूलाई लोकतन्त्र आएपछि आर्थिक, सामाजिक र भौतिक क्षेत्रमा विकासले फड्को मारेको तथ्य हेर्न आग्रह गर्नुभयो । उहाँले त्यस्ता शक्तिलाई सामाजिक सञ्जालमा कुण्ठा र निराशाको खेती नगर्न आग्रह गर्नुभयो ।

यति गर्दा गर्दै पनि सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणको लागि अझै धरै काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । एकले अर्कालाई दोष लगाएर उम्किन नसकिने बताउँदै उहाँले सबैले सच्चिन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

कडरियाले कतिपय अवस्थामा पत्रकार आफ्नै कारणले पनि जोखिममा पर्ने गरेका बताउँदै पत्रकारको सुरक्षामा सबैका दायित्व भए पनि पत्रकारलाई पनि आफ्ना गतिविधि र आचरणमा सुधार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिहरू, सकारी निकायका प्रमुख, राजनीतिक दलका नेताहरू, पत्रकार लगायतले लोकतन्त्रमा प्रेसको भूमिकोको विषयमा धारणा राख्नु भएको थियो ।