जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १९:२१

बजेट सन्तुलित र उत्पादनमुखीः एमाले


काठमाडौं, जेठ १५ । नेकपा  एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिनुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको हो ।

उहाँले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि बताउनु भयो । उहाँले सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौलाको जिकिर छ । उहाँले भन्नुभयो, ‘बजेट एकदमै सन्तुलित आएको छ । आजको मुलुकको अर्थतन्त्रको यथार्थतामा टेकेर बजेट आएको छ । घाँटी हेरेर हाड निल्ने अवस्थालाई हेरेर सरकारले बजेट ल्याएको छ । बजेटले उत्पादनलाई प्रात्साहित गरेको छ । जेनजी पुस्तालाई नवप्रवद्र्धनमा जोड्ने र मुलुकको समृद्धिमा कसरी समावेश गर्न सकिन्छ भन्ने पाटोलाई बजेटले ख्याल गर्न खोजेको छ र सरकारको लगानी प्रतिफलयुक्त योजनामा केन्द्रित गर्न खोजेको छ । वितरणमुखी बजेट ल्याउने जुन हाम्रो परम्परा थियो त्यसलाई डिपार्चर गरेर निश्चित सीमाभित्र बसेर बजेट आएको छ ।’

अगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक समृद्धि तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।