काठमाडौं, जेठ १२ । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
घटनामा संलग्नता प्रमाणित भएकामध्ये चार जना नाबालक रहेकाले उनीहरुविरुद्ध सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने प्रहरीले जनाएको छ । चैत १५ गते हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने भक्तपुर बाल अदालतमा सोमबार मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग दावी गरिएको छ । यस्तै मिश्र र जबरामाथि राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको हो । जसमध्ये ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको सो कार्यालयले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार तीनकुने घटनामा मुद्दा दायर भएकामध्ये १८ जना अहिले पनि फरार सूचीमा छन भने ४९ जना हिरासतमा छन । उहाँका अनुसार ‘आपराधिक उपद्रव र संगठित अपराधमा ६१ र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिएकोमा आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना यसअघि नै हाजिरी जमानीमा छुटेका छन ।
अदालतमा दायर अभियोगपत्रमा नाम उल्लेख नभएकाहरूलाई प्रहरीले आइतबार नै हिरासतमुक्त गरेको छ । अभियोग लगाइएका राप्रपाका वरिष्ठ उपाध्य मिश्र र महामन्त्री एवं सांसद जबरा यसअघि नै हाजिरी जमानीमा छुटनुभएको थियो । सो बितण्डाको ‘कमान्डर’ प्रसाईं भने हिरासतमै हुनुहुन्छ । पक्राउ परेका मिश्र र जवरासहित सवैलेतीनकुने घटनामा प्रसाईंलाई नै जिम्मेवार देखाउँदै बयान दिएका छन ।
राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको ज्यान गएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचाररत रहेको प्रहरीले जनाएको छ । तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर रेविकालाई प्लास्टिक सर्जरी गर्न महाराजगन्ज लगिएको हो । गोली लागेको ठाउँबाट अत्यधिक रगत बगेकाले सीटीभीएस आईसीयूमा उपचार भइरहेको छ ।
यस्तै पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यसैगरी पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा नियमित फलोअपमा रहनुभएको छ । घाइते भएपछि पाखुरामा स्टिल राखिएका उनको पाखुराको नसाको अपरेसन बाँकी छ ।
प्रहरीका अनुसार चैत १५ को तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको छ भने आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्