जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार २१:१४

लोकतन्त्रमा प्रश्न गर्न पाउनु पर्छ, जब प्रश्न मर्छ तब लोकतन्त्र पनि मर्छ : मनिषकुमार झा 


काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा पुनः गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने कुरा दोहर्‍याएको छ ।

सो पार्टीको संसदीय दलको बैठक पछि पार्टीका कार्यवाहक प्रवक्ता  मनिषकुमार झाले पत्रकारसँग कुरा गर्दै अरूलाई प्रश्न उठाउनेले आफू माथि प्रश्न उठ्दा पनि राजीनामा दिएर अनुसन्धानको लागि बाटो खोलिदिनु पर्ने बताउनुभयो । गृह मन्त्रीले गिरोह परिचालन गरेका बताउँदै झाले त्यसको जिम्मेवारी गृह मन्त्रीले लिनु पर्ने उहाँको भनाइ छ ।

भोलिको प्रतिनिधि सभा बैठकमामा गृह मन्त्री रमेश लेखकले बोल्नु अगाडि आफूहरूले प्रश्न गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । ‘हामीसँग प्रश्न नै प्रश्न छन्, हामीलाई सोध्ने मौका दिनुस्, प्रश्न गर्न पाउनु पर्छ, जब प्रश्न मर्छ तब लोकतन्त्र पनि मर्छ’, उहाँले भन्नुभयो ।

आफूहरूले प्रश्न नसोधी गृह मन्त्रीलाई सुरुमै बोलेर लुसुक्क हिँड्न नदिने उहाँले बताउनुभयो । ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्‍यो, सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन, हामीले प्रश्नै सोध्न नपाई कन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौँ, उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन्, के के प्रश्न छन् भन्ने, प्रश्न नै नसोधी कसरी जवाफ दिन सकिन्छ ?’ उहाँले भन्नुभयो ।

हिजो कांग्रेसले रवि लामिछाने गृह मन्त्री हुँदा सदन अवरुद्ध गरे जस्तो रास्वपाले सदन अवरुद्ध नगर्ने उहाँले बताउनुभयो । रास्वपाले कांग्रेसले भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने उहाँले बताउनुभयो । ‘कम से कम त्यो कुरा चाहिँ हामीले उहाँहरूबाट सिकेका छैनौँ’, झाले भन्नुभयो ।

कांग्रेस पदाधिकारी बैठकले लेखकलाई निर्दोष भनेको भन्दै उहाँलाई क्लिन चिट दिने निकाय कांग्रेस पदाधिकारी बैठक नभएको बताउनुभयो । ‘उहाँहरू को हो क्लिन चिट दिने’ झाले प्रश्न गर्नुभयो ।